स्वास्थ्यकर्मीलाई टेलिकमको भ्वाइस कल एक महिनासम्म नि:शुल्क

न्युज

अर्थ / वाणिज्य

नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनासम्म नि:शुल्क भ्वाइस कल सुविधा दिने भएको छ । पोस्टपेड र प्रिपेड सिमकार्ड प्रयोगकर्ता स्वास्थ्यकर्मीले एक महिनासम्म टेलिकमको नेटवर्कमा जुनसुकै समयमा कल गर्दा पनि शुल्क लाग्नै छैन । तर पोष्टपेड प्रयोगकर्तालाई नियम अनुसार मासिक रेन्टल चार्ज मात्रै लाग्ने टेलिकमले जनाएको छ ।

यो सुविधा दिनको लागि टेलिकमले आइतबार नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्सँग सम्झौता गरेको टेलिकमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

स्वास्थ्यकर्मीलाई आफ्नै नाममा रहेका सिममा मात्रै यो सुविधा रहने टेलिकमले जनाएको छ। आफ्नो नाममा सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले आफू सदस्य रहेको संस्थाको सिफारिस उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ। योबाहेक, आफ्नो नाममा टेलिकमको सिम नरहेका स्वास्थ्यकर्मीले आफू सदस्य रहेको संस्थाको परिचय पत्रको आधारमा नयाँ सीमकार्ड तत्कालै लिन सक्ने पनि टेलिकमले जनाएको छ।

कोभिड–१९ को संक्रमणको अवस्थालाई हेरेर यो सुविधालाई थप गर्न पनि सकिने टेलिकमले जनाएको छ। टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सुविधा दिएको हो। कोभिड महामारी नियन्त्रणको लागि अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई हौसला स्वरुप टेलिकमले यो सुविधा दिएको विज्ञप्तिमा जनाइएको छ।

यो सुविधाको नाम धन्यवाद स्वास्थ्यकर्मी अफर राखिएको छ।

Leave a Reply