यो महामारीलाई जित्न के गर्नुपर्छ ?

न्युज

विविधा

कोभिड–१९ महामारीले केही समुदाय, मुलुक र क्षेत्रलाई अन्यभन्दा धेरै ठूलो असर पारेको छ नै साथै हाम्रो भाग्य एकापसमा जेलिएको छ भन्ने पनि यसले स्मरण गराएको छ । भविष्यमा महामारीको सम्भावना बोकेका अन्य धेरै रोग, जीवाणु हुनेछन्, तर तिनले यस्तो विनाशकारी अवस्था सिर्जना गराउँछन् कि गराउँदैनन् भन्ने कुरा पूर्ण रूपमा हामीमा नै निर्भर रहनेछ ।

जेनेभा–विश्व स्वास्थ्य संगठन महानिर्देशकको कोभिड–१९ सम्बन्धी विशेष दूतहरूको रूपमा हामीले यो महामारीले उत्पन्न गराएको गहिरो पीडाको प्रत्यक्ष अनुभव गरेका छौं । विशेषगरी गरिब समुदायहरूमा यो पीडा अति नै गहिरो छ । यो गहिरो पीडा हाम्रो आँखाको अगाडि नै बढिरहेको छ र यसको अन्त्य हुने छाँटकाट कतै देखिँदैन ।हाम्रो अनुभवमा एउटा सङ्क्रामक रोगको प्रतिकार्यमा पहिलो प्राथमिकता भनेको जीवन बचाउनु र वर्तमान एवम् भावी पुस्ताहरूको स्वास्थ्य तथा हितको रक्षा गर्नु हो । सोही समयमा यो कोभिड–१९ ले गराएको विशाल सामाजिक तथा आर्थिक क्षतिबाट हामी धेरै नै चिन्तित हुँदै आइरहेका छौं। कोरोनाभाइरसको निरन्तर खतराबीचमा पनि संसारभरका मानिसहरूले आफ्नो जीविकोपार्जन जोगाउन संघर्ष गरिरहेका छन् र यस्तो परिस्थितिले यो महामारी एउटा स्वास्थ्य आपतकालभन्दा पनि बढी रहेको स्पष्ट भएको छ । यो विश्वभरका सम्पूर्ण सामाजको एउटा सङ्कट बनेको छ ।यस सन्दर्भमा हाम्रो एउटा सबभन्दा ठूलो डर भनेको दशकौंको सुधारपछि भावी पुस्ताहरूको सम्भावनाहरू अचानक खस्केको छ । केही क्षेत्रहरूले त विगत २० वर्षमा हासिल गरेका उपलब्धिहरू ठप्प रहँदै पछाडि फर्केको अनुभव गरिरहेका छन् । उच्चतर रोजगारी, विस्तारित अत्यावश्यक सेवाहरू र उन्नत शिक्षा (विशेषगरी बालिकाहरूको शिक्षा) जस्ता उपलब्धिहरू जोखिममा छन् । पूर्वाधारमा भएका विकासहरू, खानेपानी तथा सरसफाइ, रोग नियन्त्रण, राजनीतिक स्थायित्व र शासकीय संयन्त्रहरूको अवस्था पनि यस्तै रहेको छ ।सन् २०३० सम्म पूरा गर्ने गरी तय गरिएका दिगो विकास लक्ष्यहरूको मार्गमा अन्तर्राष्ट्रिय समुदायको गतिशीलता हराउनुले निकै ठूलो मूल्य चुकाउनेछ र यसमध्ये धेरैजसो अति जोखिममा रहेका वर्गले नै चुकाउनेछन् । खोपको उपलब्धतालाई नै विचार गरौं । अभूतपूर्व विश्वव्यापी वैज्ञानिक सहकार्यबाट अन्तर्राष्ट्रिय समुदायले प्रविधिको साझेदारीलाई सहजीकरण गर्न कोभिड–१९ नियन्त्रण साधनमा पहुँचलाई गतिशील बनाउने संयन्त्र कोभिड–१९ टूल एक्सलेरेटर (एसीटी-ए) र संसारभर खोपहरू समतामूलक र दक्षतापूर्वक प्रवाह गर्न कोभिड–१९ खोपमा विश्व पहुँच बनाउने संयन्त्र कोभ्याक्स फेसिलिटीको निर्माण गर्‍यो ।तर विश्वभर खोपका करोडौं मात्राहरू लगाइएको भए पनि खोपको वितरणमा गहिरो असमानताहरू रहेका छन् । उच्च आय भएका मुलुकहरूमा खोपको आपूर्ति औसतमा हरेक चारमध्ये एकलाई प्रदान गर्न सकिने गरी पर्याप्त रहेका छन् भने न्यून आय भएका मुलुकहरूमा यो आंकडा खस्केर प्रत्येक ५०० जनामा एक जनाले पाउने अवस्था पुगेको छ । यो बिन्दुमा के भन्न सकिन्छ भने यी नयाँ प्रविधिहरू सबैमा उपलब्ध हुने अवस्था सिर्जना नहुँदासम्म कोही पनि सुरक्षित रहने छैन । हामी जति ढिलो गर्छौं, यस भाइरसको खतरनाक नयाँ प्रजातिहरू (भेरिएन्टहरू) उत्पत्ति हुने जोखिम त्यत्ति नै धेरै रहन्छ ।कोभिड–१९ गराउने सार्स–कोरोनाभाइरस–२ नै मानव जातिले सामना गर्ने अन्तिम संक्रामक रोग पक्कै पनि होइन । तर यति धेरै मूल्य चुकाउने अवस्था उत्पन्न गर्ने सम्भवत यौ नै अन्तिम रोग बन्छ होला । यसपछि आउने महामारी रोकथाम गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा हामी सबैमा नै निर्भर गर्दछ । विश्व स्वास्थ्य संगठनको कानूनी ढाँचाको रूपमा रहेको र रोगाणुहरूको सीमापार फैलावट र अन्य स्वास्थ्य आपतकालका अवस्थाका लागि कसरी तयारी र सम्बोधन गर्ने भन्ने कुराहरू उल्लेख गरिएका अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू कार्यान्वयन गर्ने कुरामा सबै मुलुकहरूको प्रतिबद्धतामा नै सफलता निर्भर रहनेछ ।विद्यमान उपायहरू पूर्ण रूपमा पालना गर्नुको साथसाथै विश्व नेताहरूले थप ६ वटा चरणहरू अवलम्बन गर्नुपर्छ । पहिलो, अर्को सम्भावित विश्व महामारीलाई सकेसम्म छिटो पहिचान गर्न सक्ने गरी विश्वव्यापी पूर्वतयारीमा हामीले नाटकीय ढङ्गले लगानी बढाउनुपर्छ । केले राम्रोसँग काम गर्छ भन्ने सम्बन्धमा अहिले प्रशस्त प्रमाणहरू उपलब्ध छन् र अत्यावश्यक प्रणालीहरू कसरी क्रियाशील हुनुपर्छ र सबैतिर त्यसलाई क्रियाशील गराउने भन्नेसम्बन्धी निकै दुःखले आर्जेका अनुभवहरू हामीसँग छन् । सबै मुलकहरूले दू्रत गतिमा सान्दर्भिक जानकारीहरू बाँड्ने र ती जानकारीहरूको विश्वसनीयता सुनिश्चित गर्ने कुरामा प्रतिबद्धता जनाउनुपर्छ । दोस्रो, मानवबाट जनावरहरू र वातावरणमा रोगाणुहरू सर्नबाट रोकथाम गर्न हामीले धेरै काम गर्नुपर्छ । यसको अर्थ सीमापार हुने फैलावटको जोखिमको अनुमान गर्दै “एक स्वास्थ्य” मानसिकता राख्नुपर्छ जसले जैविक अन्तरनिर्भरता प्रतिको सचेतना र नाजुक पारिस्थितिकीय प्रणालीहरूको रक्षा गर्ने हाम्रो साझा दायित्वहरूलाई प्रतिविम्बित गर्दछ ।तेस्रो, सतर्क रहने घण्टी बजेपछि सबै मुलुकहरू दू्रत रूपमा प्रतिकार्यमा लाग्नेछन् भन्ने कुराको हामीले सुनिश्चित गर्नुपर्ने हुन्छ । यसको लागि स्थानीय, राष्ट्रिय र क्षेत्रीय स्वास्थ्य प्रणालीहरूमा तत्काल अझ धेरै लगानी गर्नुपर्ने देखिन्छ । विशेषगरी यो लगानी दू्रत पहिचान र प्रतिकार्य गर्ने कुरामा क्षमता नभएका वा कम भएका स्वास्थ्य प्रणालीहरूमा तुरुन्त बढाउनुपर्ने हुन्छ । चौथो, सरकारी अधिकारीहरूले रचनात्मक अन्तर्राष्ट्रिय सहकार्यमा प्रतिबद्धता जनाउँदै र त्यसमा सहभागी हुँदै मार्गदर्शक नेतृत्व देखाउनुपर्ने हुन्छ । यो नहुँदा विश्व सँधै जोखिममा नै रहनेछ । विश्व स्वास्थ्य संगठनको दूतहरूको रूपमा, विश्व महामारीमा पूर्वतयारीसम्बन्धी एउटा अन्तर्राष्ट्रिय सन्धिको लागि विभिन्न २६ मुलुक र सरकारका प्रमुखहरू, युरोपियन काउन्सिलका अध्यक्ष र विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अधानोम गेब्रेयेसुसबाट गरिएको आह्वनबाट हामी उत्साहित छौँ । यस प्रयासले सरकारहरूबीच उच्चस्तरीय समन्वयको लागि एउटा ठोस आधार प्रदान गर्नेछ । आदर्श रूपमा, यो अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको पूरकको रूपमा तर्जुमा गरिएको एउटा नयाँ अनुबन्धको रूपमा देखा पर्नेछ र यसको आवश्यक पर्ने सबै राष्ट्रिय प्रणालीहरूमा तत्काल सुधारको गतिलाई प्रेरित गर्नेछ ।पाँचौं, स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न खोप, निदान र उपचार पद्धति विकास गर्न र सोको प्रवाह गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई हामीले जोडतोडले अघि बढाउनै पर्छ । यसको अर्थ, कोभिड–१९ टुल एक्सलेरेटर पहुँच (एसीटी–ए) जस्ता पहलकदमीहरूलाई मजबुत बनाउँदै अत्यावश्यक स्वास्थ्य प्रविधिहरू आवश्यक पर्ने वर्गहरूका लागि ती प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्ने एउटा स्थायी अग्रगामी संयन्त्रको स्थापना गर्नुपर्छ । अन्तमा, सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो सङ्कटको प्रतिकार्य प्रयासलाई फरक ढंगले तत्काल पुनर्संगठित गर्नुपर्ने आवश्यकता छ । सबैले समता तथा निष्पक्षताको जगमा निर्माण भएको, वर्तमान विश्व महामारी सकेसम्म चाँडो अन्त्य गर्ने एकल सोच लक्ष्यबाट प्रेरित र ऐक्यबद्धता, विज्ञान एवम् समाधानको विश्व स्वास्थ्य संगठनको मन्त्र अनुरूपको एकल र समन्वयात्मक रणनीतिमा सहयोग गर्ने पुनः प्रतिबद्धता जनाउनुपर्छ ।कोभिड–१९ को लागि विशेष दूतहरूको रूपमा हामीले मुलुक र समुदायहरूलाई उनीहरूले सामना गरेको यस वर्तमान सङ्कटमा गर्ने सहयोगलाई निरन्तरता दिनेछौँ । हाल हामीले सकेसम्म सम्भावित क्षतिको रोकथाम र न्यूनीकरण गर्ने हो र यसको लागि सही जनस्वास्थ्य नीतिहरू कार्यान्वयन गर्न र क्षमताको कमी रहेका ठाउँमा क्षमता विकास गर्न सबै मुलकहरूले आफ्नो क्षेत्रभित्र र अन्य मुलुकहरूसँग मिलेर ठोस कदम बढाउनुपर्छ । यी प्रयासहरूलाई दिगो बनाउन जरुरी हुनेछ, किनकि भाइरसको वर्तमान प्रजाति र भावी उपप्रजातिविरुद्धको खोपहरू सबैमा पुग्न महिनौं वा अझ भनौं वर्षौं पनि लाग्न सक्नेछ ।अर्को प्रकोपको फैलावटको रोकथाम, सोको तयारी र व्यवस्थापनमा मद्दत गर्न सबैले आफ्नो पक्षबाट सक्दो भूमिका खेल्न हामी सबैमा अपील गर्दछौँ । यसभन्दा पनि मुख्य कुरा, साझा हितको लागि कार्य गर्न आवश्यक पर्ने ऐक्यबद्धता निर्माण गर्न आजका विश्व नेतृत्व वर्गलाई हामी आह्वान गर्दछौँ । विश्व नेतृत्वहरूले आज गर्ने निर्णयले अहिलेका र भावी पुस्ताका सबैको हितमा प्रभाव पार्नेछ । यो लेख प्रोजेक्ट सिण्डिकेटबाट अनुवाद गरिएको हो ।

Leave a Reply