२३ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

न्युज

प्रदेश १

प्रहरीले विराटनगरबाट तीन जना हुण्डी कारोबारीलाई २३ लाख नगदसहित बिहीबार पक्राउ गरेको छ । विराटनगर १३ का २५ वर्षीय श्रवण साह र ३३ वर्षीय अमृत साह सुडी र रंगेली १ बवियाबिर्ताकी २५ वर्षीया जिज्ञासा चौधरी पक्राउ परेका हुन् ।

विराटनगरस्थित रोडशेषचोकमा प्रहरीको सुरक्षा जाँचका क्रममा श्रवणको साथबाट २१ लाख ७१ हजार ५ नगद र एनआईसी एसिया, नबिल, ग्लोबल आईएमई, माछापुच्छ्रे बैंक, ग्रामिण विकास बैंक र न्यू लाइफ सेभिङ एण्ड क्रेडिट बैंकको चेक बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

यस्तै, चौधरीको साथबाट २३ हजार नगद बरामद भएको उनले बताए। दुवै जनामाथि अनुसन्धान गर्दै जाँदा अमृतको पनि संलग्नता देखिएकाले उनलाई उनको घरबाटै नियन्त्रणमा लिएको डीएसपी राईले बताए। अमृतको घरबाट दुई थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद बरामद भएको उनले बताए।

उनीहरुले हुण्डी कारोबारका लागि चैत महिनादेखि ह्वाटस एपबाट विभिन्न बैंकमा रकम जम्मा गर्न लगाउने र त्यसको विवरण पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Leave a Reply