संक्रमितको घरदैलोमा कोसेली

न्युज

कर्णाली

चन्दननाथ नगरपालिकाले कोरोना संक्रमितको घरदैलोमै पुगेर सन्तुलित भोजनसहितको कोसेली दिन सुरु गरेको छ । पोसिलो आहाराको अभावमा संक्रमितको ज्यान जान थालेको भन्दै पालिकाले कोसेली अभियान सुरु गरेको हो ।

कोसेलीको साथमा स्वास्थ्य सामग्रीसमेत वितरण गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख कान्तिका सेजुवालले आइतबार संक्रमित बसेको घरदैलोमै पुगेर कोसेली अभियानको सुरु गरेकी हुन् । संक्रमितलाई पौष्टिक आहार, स्वास्थ्य सामग्री र भिटामिन वितरण गरिएको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले संक्रमितलाई पौष्टिक कोसेली उपलब्ध गराउने निर्णय गरेपछि संक्रमितको घरदैलोमा पुगेको उनले बताइन् ।

नगरपालिकाका अनुसार संक्रमितलाई दुई केजी चना, एक क्यारेट अण्डा, एक बट्टा चेवनप्रास, १५ दिनका लागि भिटामिन सी र भिटामिन बीसहितको झोला उपलब्ध गराइएको छ । संक्रमितका लागि दुई गोटा साबुन, एक बट्टा सेनिटाइजर र दुई प्याकेट मास्कसमेत दिइएको छ ।

चन्दननाथ नगरपालिकामा आइतबारसम्म ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४३ जना होम आइसोलेनमा छन् । स्वास्थ्यमा जटिल समस्या देखिएका संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको छ । घरमा बसेका र अस्पतालबाट फर्केका गरी पहिलो चरणमा चन्दननाथका ५५ संक्रमितलाई घरघरमै पुगेर पोसिलो आहारा, स्वास्थ्य सामग्री र भिटामिनको झोला उपलब्ध गराएको सेजुवालले बताइन् । ‘होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने उपायबारे पनि सिकाएका छौं,’ उनले भनिन्, ‘बिरामीलाई मनोबल उच्च पार्न परामर्श दिइएको छ ।’

कोसेली वितरणसँगै स्वास्थ्यकर्मीलाई घरदैलोमा खटाएर होम आइसोलेसन बस्दा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना दिइरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख आफैं संक्रमितका घरघरमा पुगेर भेटघाट गरी पोसिलो आहारा दिँदा संक्रमितसमेत खुसी छन् । कोरोनालाई जित्ने रोग प्रतिरोधात्मक क्षमता बढाउने आहारा लिएर नगरप्रमुख आफैं घरमा आउनु सुखद भएको चन्दननाथ–१ का एक संक्रमितले बताए । ‘हाम्रो स्वास्थ्य स्थिति बुझ्न जोखिम मोलेरै भए पनि नगरप्रमुख आउनुभयो,’ उनले भने, ‘होम आइसोलेसन बस्दा स्वास्थ्यमा समस्या नआए पनि तनाबमा थिए, नगरपालिकाको टोलीले मनोबल उच्च बनाउन हौसला दिएको छ ।’

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जुम्लामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये झन्डै ९० प्रतिशत होम आइसोलेसनमा छन् । त्यसमध्ये सबैभन्दा बढी संक्रमित चन्दनाथ नगरपालिकामा छन् ।संक्रमित बढेपछि नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियानमा पनि जोड दिएको छ । नगर क्षेत्रमै कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानको शिक्षण अस्पताल भएकाले छुट्टै आइसोलेसन भने स्थापना नगरिएको नगरप्रमुख सेजुवालले बताइन् ।

Leave a Reply