प्रदेश २ का ५४५ स्थानमा भारतीयको बलमिचाइँ

न्युज

जनकपुर

वारिपारि खेत छन्, खोलानाला र बाटो मात्रै होइन कतिपय ठाउँ दशगजामै मान्छेले बसोबास गरेका झुप्रा पनि छन् । नेपाल–भारत सीमाका धेरै ठाउँमा दशगजा कहाँ छ भनेर पत्ता लगाउन नै गाह्रो पर्ने अवस्था छ ।

प्रदेश २ का आठवटै जिल्ला भारतसँग सीमा जोडिएका छन् । सशस्त्र प्रहरीले गरेको सर्वेक्षणका अनुसार प्रदेश २ का विभिन्न जिल्लाका ५ सय ४९ स्थानमा भारतीयले नेपाली भूमिमा बलमिचाइँ गरेका छन् । सप्तरीमा ११, सिरहा २९, धनुषा ३९, महोत्तरी २५, सर्लाही १ सय २, रौतहट ६, बारा ११ र पर्साको ३ सय २६ स्थानमा भारतीयले नेपाली भूमि प्रयोग गरिरहेका छन् ।

सर्लाहीको मलंगवा–५ भाँड्सरका ६५ वर्षीय समसुल हक भन्छन्, ‘म बालक छँदा घर अगाडि दशगजामा पिलर थियो । अहिले त्यो पिलरै छैन । त्यो ठाउँमा पारिका मान्छेले लगाएको लहलहाउँदो गहुँ छ ।’ पुरानो पिलर ओझेलमा पारेर नयाँ राखिएपछि भारतीयले नेपालतर्फको जमिन अतिक्रमण गरेको उनी बताउँछन् ।

भाँड्सर नेपाल–भारत दशगजा नजिकको गाउँ हो । २०४२ सालमा दुई देशका नापजाँच गर्ने टोली आएर नयाँ पिलर नेपालतर्फ गाडिदिएको हकको दाबी छ । भारतीय पक्षले नेपालतर्फ नयाँ पिलर गाड्दा नेपाली टोलीले प्रतिवादसमेत नगरेको उनले बताए । ‘हामी बोलेका हौं तर हामीले बोलेको कसैले सुन्दैन,’ उनले भने, ‘हामी सीमामा बस्नेलाई पारिबाट हेपेको अनुभव हुन्छ ।’

भाँड्सर नजिक घोरदौरी चौरीमा पनि अवस्था यस्तै छ । त्यहाँ पनि भारतीय पक्षले बलजफ्ती दशगजामै खेतीपाती गर्दै आएको स्थानीय अरुणकुमार यादवले बताए । सर्लाहीमा नेपाल–भारत सीमा १ सय २ स्थानमा मिचिएको तथ्यांक केन्द्रमा छ । तर पछिल्लो नापजाँच भएपछि सीमा स्तम्भ सार्ने वा भारतीय पक्षले बलमिचाइँ गरेको भन्ने जानकारी नभएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सीमाका बारेमा प्रत्येक दिन सशस्त्र प्रहरीबाट ब्रिफिङ लिने काम भइरहेको बताए । ‘सीमा निर्धारण भएपछि निगरानी प्रत्येक दिन भइरहेको छ, तलमाथि हुने कुरै भएन,’ उनले भने, ‘दशगजामा पराल राख्ने लगायतका काम दुवैतर्फका नागरिकबाट भइरहेको मैले देखेपछि त्यो हटाउने प्रयास गर्दै छु ।’ धनुषाको जटही, लग्मा, बिर्ताघाटमा दशगजा क्षेत्रमा वर्षौंदेखि भारतीयले खेतीपाती गरिरहेका छन् । सीमा अनुगमन र स्तम्भ मर्मतका बेला दुई देशका सुरक्षा अधिकारीले दशगजा क्षेत्रमा खेतीपातीमा रोक्ने सहमति गर्छन् । तर कार्यान्वयन हुन सकेको छैन ।

भारतीय नागरिकले बलजफ्ती खेती गर्दै आएको सुरक्षाकर्मीको तर्क छ । भारतीय नागरिकले दशगजा क्षेत्रमै धान, गहुँ र दलहनलगायत बाली उब्जाउँदै आएका छन् । सीमा क्षेत्रमा लगाइएको खेती एकपक्षीय रूपमा मास्न पनि नमिल्ने भएकाले नेपाली पक्ष चुपचाप छ । सशस्त्र प्रहरीले यसबारे उच्च तहमा जानकारी गराए पनि दशगजा खाली गराउन उच्च तहबाटै पहल नभएको प्रहरीका एक अधिकारीले बताए ।

नेपाली पक्षबाट हुने पूर्वाधार निर्माणमा हस्तक्षेप गर्न आइपुग्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भने भारतीयलाई दशगजामा खेती गर्न छुट दिएका छन् । भारतीयले निर्बाध खेती गरिरहेका क्षेत्रबाट साना र मझौला स्तम्भहरू हराउने समस्या बढेको सुरक्षाकर्मी बताउँछन् ।

अधियाँ–बटैया भारतीयलाई

रौतहटका सीमावर्ती गाउँमा भारतीयले वारि खेती गर्ने गरेका छन् । यो चलन नयाँ होइन । इशनाथ–१ बन्जाराहाका बिगु साहले सीमा क्षेत्रको बलुवा गाउँका प्रदीप साहलाई आफ्नो एक बिघा खेत बटैयामा कमाउन दिएको डेढ दशकभन्दा बढी भइसक्यो । उनले बाली लगाउन नभ्याएपछि भारतीयलाई अधियाँमा खेत दिएका छन् ।

बन्जाराहाको सीमा क्षेत्रका एक दर्जन स्थानीयले भारतीयलाई बटैयामा खेत कमाउन दिएका छन् । यो क्रम विगत डेढ दशकदेखि चलिआएको इशनाथ–१ का वडासदस्य गिरिशनन्दन सिंहले बताए । ‘सीमामा दशगजा क्षेत्र बाहिर नेपालीको खेत कमाउन भारतीय आउँछन्,’ उनले भने । मजदुरको अभाव र समयका कारण नेपालीले भारतीयलाई आधा बाली लैजाने गरी बटैया दिँदै आएको सिंहले सुनाए ।

रौतहटको वाग्मतीदेखि इशनाथको बन्जाराहा–औरैयासम्मको ३२ किलोमिटर बाँध र सीमा क्षेत्रको दशगजा नजिक अधिकांश नेपालीका जमिन भारतीयले कमाउँदै आएका छन् । धान, मकै, मसुरो, गहुँलगायत बाली लगाउँदा उनीहरूले आफ्नो लगानीमा उब्जाएर फसल आधा/आधा गर्छन् । सीमासित जोडिएको नेपालतर्फका राजदेवी, गौर, परोहा, इशनाथमा जमिन बटैया दिने चलन पुरानो भएको साहले बताए ।

‘हाम्रा गाउँघरका मजदुरहरू कमाउन भारत गएका छन् । आफूले खेती गर्न खोज्दा काम गर्ने मान्छे नै पाइँदैन । त्यही भएर बटैया दिएको हुँ,’ उनले भने । यसरी बटैया गरेकोबारे स्थानीय प्रशासनलाई कुनै चासो छैन । राजदेवीको ब्रह्मपुर, लक्ष्मीपुर बेलबिछुवा क्षेत्रका नेपालीको पनि जमिन बटैयामा दिइएको स्थानीयले बताएका छन् ।

Leave a Reply