सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादीले केही दिनमा निर्णय गर्ने

न्युज

काठमाडौं

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले केही दिन अझै समर्थन फिर्ता नगर्ने निष्कर्ष निकालेको हो ।

नेता नारायणकाजी श्रेष्ठले एक दुई दिनमै स्थायी कमिटीको औपचारिक बैठक बसेर समर्थन फिर्ताको विषयमा निर्णय गर्ने बताए । प्रमुख प्रतिपक्ष कांग्रेस, जनता समाजवादी पार्टीबाट स्पष्ट धारणा नआइसकेको हुँदा केही दिन पर्खिने उनले बताए ।

‘आजको अनौपचारिक बैठकमा पछिल्लो राजनीतिक परिस्थितको विश्लेषण, विभिन्न राजनीतिक दलसँग भएको वार्ताको बिफ्रिङ गर्ने काम भयो । परिस्थिति अझै पनि स्पष्ट भइसकेको छैन । विभिन्न राजनीतिक पार्टीहरुसँग वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर निर्क्यौल गर्न समय माग गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘यो सबै परिस्थिति हेर्दा एक दुई दिनमा स्थायी कमिटी बैठक बसेर अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने भनेर आवश्‍‍यक निर्णय लिने छौं ।

‘हाम्रो पार्टीबाट यो सरकारलाई समर्थन छैन । प्राविधिक रुपमा चिठी लेखिसकेका छैनौं । पार्टीको एकतापछि ७६ (१) को सरकार भएको थियो । सर्वोच्चको फैसलापछि नेकपालाई दुई पार्टीमा विभाजन गर्दिइसकेपछि हामीसँग समर्थन मागिएको पनि छैन, हामीले औपचारिक रुपमा समर्थन गरिसकेका पनि छैनौं । त्यसकारण हाम्रो समर्थन यो सरकारलाई छैन भनेर औपचारिक रुपमा लेखेर दिने मात्रै कुरा हो,’ श्रेष्ठले भने ।

पार्टीको सांगठनिक प्रक्रिया कसरी अगाडि बढाउने र देश व्यापी रुपमा अभियान कसरी चलाउने भनेर प्रारम्भिक छलफल भएको श्रेष्ठले बताए ।

माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका हुन् ।

Leave a Reply