दशगजा मिचेर बस्ती र खेती

न्युज

विराटनगर

भारतसँगको सीमा क्षेत्रमा धेरै स्थानमा दुवै देशका बासिन्दा बसेका छन् । कतिपयले घर टहरा र अरू संरचना बनाएका छन् । खेतीपाती पनि हुने गरेको छ । कतिपय स्थानमा भने भारतीय पक्षबाट अतिक्रमण बढी भइरहेको छ ।

भारतको विहारको जोगबनी–५ का महेश यादवको परिवार चार पुस्तादेखि नेपाल–भारत सीमाको दशगजामा बस्दै आएको छ । उनका हजुरबुबा सोनेलाल यादव भारतको दरभंगाबाट बसाइँ सरेर दशगजा आएका थिए । उनका पनाति पनि अहिले यहीँ छन् । दुई छोरा नेपालतर्फ मजदुरी गरिरहेको महेशले बताए ।

‘हजुरबुबाको पालादेखि नै ज्याला मजदुरी गर्नुपरेकाले कतै घडेरी जोड्न सकिएन,’ उनले भने, ‘बेलाबेला नेपाल र भारततर्फका सुरक्षाकर्मी आएर दशगजाबाट जान भन्छन् तर हामी कहाँ जाने ?’ गोठ बनाउन खोज्दा नेपालका प्रहरीले भत्काइदिने गरेको उनले गुनासो गरे । जोगबनी–५ का महेन्द्र यादव ३४ वर्षदेखि दशगजामा छन् ।

सन् १९८७ मा आएको बाढीले जोगबनी बजार नजिकको घर बगाएपछि दशगजामा आएर बसोबास थालेको उनले बताए । दशगजासँग जोडिएको भारत र नेपाल दुवैतर्फ उनको आफ्नै जग्गा छ । ‘भारतमा १ बिघा र नेपालको दरैयामा १ बिघा ५ कट्ठा छ,’ यादवले भने, ‘जतिन्जेल बस्न सकिन्छ यहीं बस्ने, सरकारले जुन दिन उठाइदिन्छ त्यो दिन आफ्नो जग्गामा घर बनाएर बस्ने ।’ विराटनगर–१६ दरैयामा १ बिघा ५ कट्ठा जग्गा यादवको कान्छो छोरा राजारामको नाममा छ । राजारामले भने नेपालको नागरिकता लिएका छन् ।

सन् १९८७ देखि मोरङको दरैया बस्ती र भारतको टिकुलिया बस्तीबीच रहेको दशगजाको पिलर नम्बर १८०/२ को वरिपरि २० परिवार बसोबास गर्दै आएका छन् । जोगबनीसँग जोडिएको यो ठाउँ मात्र होइन, मोरङको ६३ किलामिटर सीमाका १८ ठाउँमा भारतीय पक्षले दशगजा क्षेत्र अतिक्रमण गरेर बसोबास गर्दै आएको छ । जहदा गाउँपालिका–७ तरिगामास्थित दशगजा क्षेत्र ओगटेर भारतीयले घर बनाएका छन् । उक्त ठाउँमा रहेको १ सय ७४ पीपी ६२ नम्बरको जंगे पिलर भारतीयको आँगनमा छ । त्यहाँ दशगजामै ढलान सडकका साथै मन्दिरसमेत बनाइएको छ ।

स्थानीय जगदीश साह भारतीयहरूले पटकपटक दशगजा अतिक्रमणको प्रयास गर्दै आएको बताउँछन् । ‘दशगजा अतिक्रमण गर्न खोज्दा पटकपटक विवाद हुने गरेको छ,’ उनले भने, ‘सीमा क्षेत्रमा विवाद हुँदा भारतीयले सीमा क्षेत्रका नेपाली गाउँमा चोरी गराइदिने गरेका छन् ।’ नेपालतर्फ सुरक्षाकर्मीको उपस्थिति निकै पातलो छ । ‘पारि एसएसबी चौबीसै घण्टा सीमा सुरक्षाका लागि खटिएको हेर्छु तर हाम्रो सशस्त्र प्रहरी एकछिनका लागि आउँछन्, घुम्छन् फर्किन्छन्,’ स्थानीय उमेश कुमारले भने, ‘भन्सार र प्रहरी चौकी द्वन्द्वकै बेला गएदेखि फर्किएन ।’

मोरङको विराटनगर महानगरपालिका-१६ दरैयास्थित दशगजा अतिक्रमण गरेर बसेको भारतीय बस्ती टिकलिया । तस्बिर : देवनारायण साह

नेपालतर्फ आफ्नो जग्गाधनी पुर्जा नभएकाले घरटहरामा बिजुलीको लाइन पाउँदैनन् । विराटनगरसँग जोडिएको दशगजा क्षेत्रमा भारत सरकारले भने सजिलै बिजुली दिँदा दशगजा अतिक्रमण गरेर घरटहरा बनाउनेहरु हौसिएका छन् । विराटनगर भन्सार कार्यालय नजिक दशगजा क्षेत्रमै भारतीयले विभिन्न संरचना निर्माण गरेका छन् ।

गत वर्ष भारतीय कस्टमले दशगजामै भवन निर्माण गरेपछि सशस्त्र प्रहरीले भत्काइदिएको थियो । मोरङको दरैया, मटेरुवा, बुद्धनगर, चोप्राहा, रानी, तरिगामा गोदाम, सिक्टी, चुनिमाडीलगायतमा भारतीयले दशगजा क्षेत्र अतिक्रमण गरेर बसोबास गरेका छन् । मोरङको ६३.२ किलोमिटर सीमा क्षेत्रमध्ये विभिन्न ठाउँमा भारतीयले दशगजा क्षेत्र ओगटेर घरटहरा बनाएको पाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

सीमा सुरक्षालाई ध्यानमा राखेर हाल दक्षिण मोरङमा सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) को संख्या ११ पुर्‍याइएको छ । ‘सशस्त्र प्रहरीको सक्रियता बढाउन बीओपी स्थापना गर्ने काम सुरु भएकाले सीमा रक्षाका लागि सहज हुनेछ,’ प्रजिअ निरौलाले भने । सीमा सुरक्षाको जिम्मेवारीमा भएको सशस्त्रका लागि बेस राख्ने ठाउँ नै अभाव छ । जहदामा जग्गा नपाएर सशस्त्रको टोली एकीकृत भन्सार जाँच चौकीमा बसेको छ ।

सिंगै गाउँ भारततिर

२०२० सालताका झापामा मेची नदीको धार परिवर्तन गर्दा भद्रपुर–३ महेशपुरको एउटा सानो गाउँको नक्सा पनि फेरियो । त्यो बेला मेची बगेको स्थान अहिले भारततिर छ । यो क्षेत्रमा करिब १० हेक्टर जमिन भारतले अतिक्रमण गरेको अनुमान गर्छन् वडाध्यक्ष अरुण राजवंशी ।

त्यस्तै मेचीनगर–१५ मेचीपारिको अर्को गाउँमा पनि १० हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ । राजवंशीका अनुसार द्वन्द्वकालमा प्रहरी चौकी विस्थापित भएका बेला भारतले यो क्षेत्रमा पुनः अतिक्रमण सुरु गरेको थियो । तर, स्थानीयवासीको विरोधले अतिक्रमण बढ्न पाएन । ‘यो गाउँ नजिकै भारतले बस्ती बसाउन थालेको थियो,’ राजवंशी भन्छन्, ‘हामीले थाहा पाएपछि प्रशासनको सहयोगमा अतिक्रमण हटाइयो ।’

भारतले अतिक्रमण गरेको जमिन देखाउँदै भद्रपुर-३ का स्थानीय वृद्ध । तस्विर: पर्वत पोर्तेल

भद्रपुर–३ स्थित मेचीपारिका मिटिङ राजवंशीको जमिन भारततिर पर्छ । वर्षौं पहिलेदेखि जोतभोग गर्दै आएको करिब ३ बिघा जमिन अहिले विवादमा छ । किनकि भारतीय नागरिक गोनु पासवानले उक्त जमिन आफ्नो भएको भन्दै उजुरी गरेका छन् ।

झापा–इलामको सीमावर्ती बाहुनडाँगीस्थित तिरिङदेखि खजुरगाछीसम्मको करिब १ सय ४४ किलोमिटर क्षेत्र भारतसँगको खुला सीमा क्षेत्र हो । यो क्षेत्रका करिब चार दर्जन स्थानमा भारतसँग सीमामा किचलो छ । सीमा जोडिएका झापाको मेचीनगर, महेशपुर, घेराबारी, कचनकवल, झापा आदि क्षेत्रमा पनि अतिक्रमण छ ।

मेचीनगर–७ भान्साखोलाका वीरबहादुर सुव्वाले खोरिया फाँडेर बसेको पुरानो बस्ती अहिले भारतीय भूमिमा पर्छ । २०३२ सालपछि यो क्षेत्रमा अरू पनि थपिँदै गए अनि सानो टोल नै बन्यो । भारतले करिब ३७ वर्षअघि यो जमिन अतिक्रमण गरेको स्थानीय अगुवाको दाबी छ । यहाँको १५ घरधुरी भारतमा परेको छ । २०४२ सालतिर यहाँ नापी भएको थियो । त्यही बेला भारतले नेपाली भूभाग मिचेर सीमा पिलर गाड्यो । ‘भारतले नेपाली जमिनतिर पिलर गाडेर गएछ,’ स्थानीय मैया उप्रेतीले भनिन् ।

भारतले आफ्नो दाबी गरेको यो जमिनलाई नेपालीहरूले नै जोतभोग गर्दैछन् । मेचीनगर नगरपालिकाले विवादित यो जमिनमा स्थानीयका लागि पानी, बिजुली, सडक आदि पूर्वाधार विकासमा बर्सेनि बजेट छुट्याउने गरेको छ । ‘हामी बसेको ठाउँ हाम्रै हो, हामी नेपाली नै हौं,’ स्थानीय नारायण राईले भने । स्थानीयका अनुसार करिब ६० बिघा भारतले अतिक्रमण गरी सीमा स्तम्भ गाडेको पाइएको छ । नापी भएका बेला भारतले ५० र ५१ नम्बरका पिलर साविकको नेपाली जमिनभन्दा ५ सय मिटर वरै गाडेको हो ।

सरकारी स्रोतका अनुसार झापा–इलामको सीमावर्ती क्षेत्र जिर्मलेदेखि दक्षिण झापाको पाठामारीसम्म करिब ४ हजार बिघा जमिन भारतले अतिक्रमण गरेको पाइएको छ ।

जंगे पिलरलाई घेराबन्दी

झापा भद्रपुरको मेची नदीपारि अवस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पभित्र वर्षौंदेखि काँडेतारभित्र जंगे पिलर कैद छ । जसले भारत बिहारको गलगलिया क्षेत्रमा पर्ने एसएसबी क्याम्प पहिला नेपाली भूभाग थियो भन्ने कुरा यही पिलरले पुष्टि गर्छ । ‘भद्रपुर नजिकको १ नम्बर र महेशपुर गाविसमा पर्ने ३ नम्बर जंगे स्तम्भ कब्जा गरेर एसएसबीले दुई दशकदेखि क्याम्प राखेको यथार्थ हो,’ जिल्ला प्रशासन झापाका एक प्रहरी प्रशासकले भने, ‘तर, हामीले केही गर्न सक्ने अवस्था छैन ।’ भारत बिहारको गलगलियास्थित डागुजोतका एसएसबीले १ नम्बर तथा किसनगन्ज चुल्ली पञ्चायत खटकद्दीस्थित एसएसबीले ३ नम्बर स्तम्भ कब्जा गरी २०५८ सालमै क्याम्प खडा गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

नेपाली जमिन अतिक्रमण गरी भारतले राखेको सीमास्तम्भ देखाउँदै मेचीपारिका स्थानीय वृद्ध । विगतमा यो स्तम्भभन्दा निक्कै पूर्वतिर नेपाली जमिन थियो । तस्बिर : पर्वत पोर्तेल

एसएसबीले वर्षौंदेखि कब्जा गरेको सीमा स्तम्भलाई सरकारी अधिकारीले रिफरेन्स पिलर मान्दै आए पनि सीमाविद् बुद्धिनारायण श्रेष्ठ भने उक्त पिलर नेपाल–भारत सीमा छुट्याउने मुख्य सीमा पिलर (जंगे पिलर) रहेको दाबी गरेका छन् । २०५७ सालमा प्रकाशित श्रेष्ठको पुस्तक ‘नेपालका सिमाना’ का अनुसार भद्रपुर नगरपालिकाको साँधमा बगेको मेची नदीको ठीक पूर्वी किनारमा रहेको खम्बा जंगे स्तम्भ नै भएको उल्लेख छ ।

यो जंगे स्तम्भ नेपाल–बंगाल–बिहारको त्रिबिन्दुका रूपमा स्थापित छ । पुस्तकका अनुसार २०५२ चैत महिनामा नेपाल–भारत संयुक्त नापी टोलीद्वारा १२० नं. स्तम्भ नजिकबाट सीमारेखा पश्चिमतर्फ मोड्दै अंग्रेजी अक्षरको ‘सी’ आकार जस्तै पारेर घुमाई जंगे स्तम्भको केही दक्षिण पुर्‍याइएको थियो । घुमाउरो नयाँ सिमानामा १०१/१ देखि १०१/११ नम्बरका नयाँ सहायक सीमा खम्बाहरू भटाभट गाडिएका थिए । यसले गर्दा साविकको सिमानाभन्दा करिब १ किलोमिटर क्षेत्र मेची नदीभन्दा पश्चिमको नेपाली भूभाग मिचिई भद्रपुर माविको मैदानसमेत नयाँ सीमा खम्बा गाडिएको थियो ।

सुनसरीसँग जोडिएका नेपाल–भारतबीचको दशगजा क्षेत्रमा दुवैतर्फबाट अतिक्रमण गरेर बनाएका घरटहरा र खेतीपाती नष्ट गरिदिएपछि दशगजा क्षेत्र अतिक्रमणमा कमी आएको छ । सशस्त्र प्रहरी बल सुनसरीका अनुसार ११ वटा घरटहरा र भारततर्फबाट अतिक्रमण गरी बनाइएका ४ वटा घरटहरा नष्ट गरिएको हो । नेपाल–भारतबीचको दशगजा क्षेत्र दुई मुलुकलाई भौतिक र राजनीतिक रूपमा छुट्याउने अन्तर्राष्ट्रिय सिमाना हो ।

सुनसरीका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव पौडेलले हाल सुनसरीमा नेपाल–भारतबीचको सीमा सम्बन्धमा कुनै विवाद नरहेको र दशगजा क्षेत्र खाली गरिएकाले फिल्ड सर्भे टिमले जीपीएस सिस्टमअनुसार काम गरिरहेको बताए ।

-देवनारायण साह (मोरङ), पर्वत पोर्तेल (काँकडभिट्टा) र प्रदीप मेन्याङ्बो (सुनसरी)

Leave a Reply