मिनी रंगशाला निर्माण अलपत्र

न्युज

म्यादी

सदरमुकाम बेनीको म्याग्दी र कालीगण्डकी नदी दोभानमा बन्दै गरेको मिनी रंगशालाको काम एक वर्षदेखि अलपत्र छ । बेनी खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने काम बजेट अभावले रोकिएको हो ।

चालु वर्ष संघ, प्रदेश र स्थानीय बेनी नगरपालिका कतैबाट पनि बजेट विनियोजन भएन । ९ करोड बढी लागत अनुमान गरिएको रंगशाला बनाउन संघीय सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ४० लाख र बेनीका ७ वडा कार्यालयको ९ लाख र संघीय सांसद विकास कोषबाट ५० लाख बजेट खर्च भइसकेको छ ।

नदी बगरमा अवस्थित बेनी खुलामञ्च जिल्लाकै सवैभन्दा ठूलो खेल मैदान मात्र होइन, राजनीतिक सभा/समारोह, सांस्कृतिक कार्यक्रम, व्यापारिक मेला/महोत्सव आयोजना गरिने एकमात्र स्थल हो । ‘लकडाउन सुरु भएदेखि नै मिनी रंगशाला बनाउने काम रोकिएको छ । चालु वर्षमा त झन् कतैबाट पनि बजेट नै आएन,’ रंगशाला निर्माण समितिका अध्यक्ष कृष्णकुमार विकले भने, ‘बेनी नगरपालिकाबाट बजेट रकमान्तर गरेरै भए पनि १५–२० लाखसम्मको बजेट ल्याएर कामलाई निरन्तरता दिने प्रयासमा छौं ।’

कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलको बगरमा ३८ गुणा ८० मिटर आकारमा त्रिकोणात्मक रूपमा अव्यवस्थित मैदानलाई विस्तार गरी ४५ गुणा ९६ मिटर क्षेत्रफलको खेलमैदान बनाउन काम सुरु भएको थियो । फुटबलमा ४५ गुणा ९० मिटर चौडाइ/लम्बाइ न्यूनतम र अधिकतम ६० गुणा १२० मिटर चौडाइ/लम्बाइ भएमात्र फुटबलको अफिसियल खेल मैदान मानिन्छ । मैदान विस्तारसँगै नदी किनारामा तटबन्ध उठाई ७ हजारभन्दा बढी दर्शक अट्ने ९०–९० मिटर लामो प्यारापिट राख्ने योजना छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रंगशाला बनाउन पर्याप्त बजेट विनियोजन गर्ने आश्वासन दिए पनि गरेका छैनन् । भौगोलिक आकार नमिलेको छड्के र पूर्ण साइजको मैदान नहुँदा यहाँका ठूला राशिका प्रतियोगिता नाइन ए साइड नियममा खेलाउने गरिन्थ्यो । फुटबलमा ११–११ जनाको टिम हुनुपर्नेमा खेलमैदानको साइज नपुग्दा ९–९ जनाको टिममा प्रतियोगिता हुने गरेका छन् । ‘जिल्लामै हरियो दुबो भएको इलाभेन ए साइड आकारको मैदानमा दर्शक प्यारापिटमा बसेर आनन्दले खेल हेर्ने दिन अवश्य आउँछ, संघीय युवा तथा खेलकुद मन्त्रालयमा पर्याप्त बजेटको पहल भइरहेको छ,’ प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले भने, ‘कोरोना कहरले यो वर्ष बजेट नआएको हो । अर्को वर्ष बजेट हुन्छ ।’

रंगशाला निर्माण आव २०७५/७६ मा बेनी नगरपालिकाको ६०/४० प्रतिशतको बजेट मोडेलमा ९७ लाख ५८ हजार खर्च गरी रंगशालाको डीपीआर तयार पार्ने र म्याग्दी खोलापट्टि प्यारापिट राख्न ११ मिटर अग्लो फाउन्डेसन राख्न थालिएको हो । म्याग्दी–काली गण्डकी नदी बगरमा खेलकुद मैदान सुधार गर्ने काम भने २०५१ सालदेखि तत्कालीन सांसद नीलबहादुर तिलिजाले सांसद विकास कोषबाट १ लाख विनियोजन गरी थालेका हुन् ।

त्यसपछि २०७१ सालमा युवा तथा खेलकुद मन्त्रालयबाट ६ लाख ५० हजार र श्रमदान १ लाख ५० हजार खर्च गरी नदी बगरलाई नाइन ए साइड फुटबल मैदानको स्वरूपमा ल्याइएको हो । बेनी रंगमञ्च निर्माण गर्न पूर्वपट्टि कालीगण्डकी किनारामा रहेको मुस्लिम समुदायको चिहान (कब्रस्तान) भएको ठाउँबाट करिब १० मिटर पछाडि सार्ने र सो ठाउँमा बलियो फाउन्डेसनसहित प्यारापिट निर्माण गर्ने योजना छ ।

Leave a Reply