पोखरा स्पोर्ट्स अवार्ड :चार विधामा मनोनयन सार्वजनिक

न्युज

पोखरा

खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख २० मा हुने ‘पाँचौं पोखरा स्पोर्ट्स अवार्ड ०७६/७७’ को विभिन्न ४ विधामा मनोनयन सार्वजनिक भएको छ । मञ्चले सोमबार पोखरामा अवार्डका ७ विधामध्ये ४ वटामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको हो ।

वर्षखेलाडी पुरुषतर्फ करातेका नवीन रसाइली, टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल मनोनयनमा परेका छन् । बागलुङ बोंगादोभानका नवीन १३ औं सागमा ६७ केजी तौल समूहमा स्वर्ण पदक विजेता कराँते खेलाडी हुन् । उनी बंगलादेशमा भएको पाँचौं साउथ एसियन च्याम्पियनसिपमा एकलतर्फ कांस्य र टिम इभेन्टमा रजत पदक विजेता पनि हुन् । लमजुङ दुराडाँडाका विनेशले १३औं सागमा टेबुलटेनिसको टिम इभेन्टमा रजत र एकलतर्फ कांस्य पदक जितेका थिए ।

पूर्वी नवलपुरका सुमन १३ औं सागमा नेपाल यू–२३ फुटबल प्रतियोगिताको च्याम्पियन बन्दा टिममा थिए । वर्षखेलाडी महितातर्फ साइक्लिङकी जमुना थापा, तेक्वान्दोका पार्वती गुरुङ र प्रशंसा क्षेत्री उत्कृष्ट तीनमा छन् । पोखराकी जमुना १३औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक विजेता हुन् । उनी गोरखामा आयोजित पहिलो लिगलिग साइक्लिङ म्याराथन (५४ किमी) मा समग्रमा नवौं स्थान र गण्डकी प्रदेशबाट कांस्य पदक जित्न सफल भएकी थिइन् । यसै वर्ष पहिलो त्रिपिटक खेलकुद महोत्सवमा उनले रजत पदक जितिन् ।

लमजुङको दूधपोखरीकी पार्वती १३औं सागमा २४–२९ वर्ष उमेर समूहमा १ स्वर्ण र १ कांस्य पदक विजेता तेक्वान्दो खेलाडी हुन् । नेपाल प्रहरीमा आबद्ध उनले कोरियन एम्बासडर नेसनल तेक्वान्दो च्याम्पियनसिपमा चौथोदेखि नवौं संस्करणसम्म स्वर्ण पदक जितेकी थिइन् । राखेप च्याम्पियनसिपमा रजत, पहिलो लुम्बिनी नेसनल च्याम्पियनसिपमा स्वर्ण, आठौं राष्ट्रिय खेलकुदको ३ विधामा २ मा स्वर्ण र १ मा रजत पदक उनले जितेकी छन् ।

स्याङ्जा हरिनासकी प्रशंसाले १३औं सागमा २४–२९ वर्ष उमेर समूहमा तेक्वान्दोको पुम्से इभेन्टमा टिम इभेन्टतर्फ स्वर्ण जितेकी थिइन् । आठौं राष्ट्रिय खेलकुदमा उनले कांस्य जितिन् । उनले दोस्रो काठमाडौं इन्टरनेसनल गेम्समा स्वर्ण, १२औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण, पहिलो एभरेस्ट नेसनल ओपन गेम्समा रजत जितिन् ।

उदीयमान् खेलाडीको मनोनयनमा पौडीकी दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्री परेका छन् । मनाङ ङिस्याङकी दुवानाले १३औं सागमा एकल स्पर्धातर्फ २ रजत जितिन् भने टिम रिलेतर्फ ३ स्वर्ण पाइन् । २०० मिटर बटरफ्लाईतर्फ उनले राष्ट्रिय रेकर्ड कायम गरिन् । आठौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण र ४ रजत पदक विजेता उनले सन् २०१९ मा बैंग्लोरमा भएको एसियन एजग्रुप लङ कोर्स च्याम्पियनसिपमा ५० मिटर, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय रेकर्ड कायम गरेकी छन् ।

पोखराका प्रदीपले १३औं सागमा लनटेनिसको टिम इभेन्टमा कांस्य जितेका थिए । उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, आठौंमा मेन्स सिंगलमा कांस्य, मेन्स टिम इभेन्टमा कांस्य तथा मेन्स डबलतर्फ रजत जितेका छन् । पोखराकै विपिनले गण्डकी प्रदेशको पुरुष सिनियर क्रिकेट टिमको कप्तानी सम्हालिसकेका छन् । यू–१९ बाट खेलजीवन सुरु गरेका उनले प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग खेलिसकेका छन् । गण्डकीबाट प्रतिनिधित्व गर्दै हालसम्म उनले प्रधानमन्त्री कपमा चारपल्टसम्म सहभागिता जनाएका छन् । पहिलो प्रधानमन्त्री कपमा उनी उदीयमान खेलाडी घोषित भएका थिए ।

उत्कृष्ट प्रशिक्षकतर्फ पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनयनमा छन् । पोखराका आनन्दले विसं २०५६ मा भएको आठौं साफ खेलमा स्विमिङमा कांस्य जितेका थिए । उनी सन् १९९९ मा प्रवल गोरखा दक्षिणबाहु पदकबाट विभूषित भएका थिए । हाल उनी पोखरामा स्विमिङ प्रशिक्षकका रूपमा काम गर्छन् ।

पोखराका किरण सन् २०१८ यता पुरुष फुटबलको राष्ट्रिय टिमको सहायक प्रशिक्षकको भूमिकामा छन् । उनी सहारा क्लब, बौद्ध फुटबल क्लब, सुदूरपश्चिम फुटबल क्लबको मुख्य प्रशिक्षक रहिसकेका छन् । पोखराकै सुरेश ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता (२०४४) मा छनोट भएसँगै आजसम्म निरन्तर बक्सिङमा आबद्ध छन् । उनी २२ वर्षदेखि बक्सिङको प्रशिक्षकका रूपमा सक्रिय छन् ।

मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित खेलाडी छनोट उपसमितिले यी नामहरू छनोट गरेको हो । लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकार अवार्ड भने पछि सार्वजनिक गर्ने मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए । हरेक वर्ष हुँदै आएको अवार्ड गत वर्ष भने कोभिड–१९ को महामारीले अन्तिम समयमा स्थगित गर्नुपरेको उनले सुनाए । ‘यसपल्ट ०७६/७७ दवैलाई जोडेर संयुक्त रूपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्ट्स अवार्ड प्रदान गर्ने निर्णय गरेका हौं,’ उनले भने ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेल क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्छ । यसपल्ट उक्त अवार्डमा चाँदीको करुवा रहेको छ । वर्षखेलाडी पुरुष र महिलाले नगद २/२ लाख रुपैयाँ पाउनेछन् । वर्ष उत्कृष्ट उदयीमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेल संघले ३५/३५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाले ट्रफी प्राप्त गर्नेछन् ।

Leave a Reply