चीनद्वारा ८ लाख कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

न्युज

चीनले कोरोना भाइरस विरुद्धको खोपको ८ लाख डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाललाई उपलब्ध गराएको खोपसम्बन्धि दस्ताबेज प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी हुन् ।

चीनले सहयोगस्वरुप दिएको ८ लाख डोज कोरोना खोप सोमबार मात्रै काठमाडौं आइपुगेको थियो।

कोरोना खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मैत्री सम्बन्ध खोपको सहयोगले थप मजबुद बनाएको बताएका छन्।

ओलीले भारत र चीन दुवै छिमेकी मुलुकबाट नेपाललाई खोपको सहयोग भएको बताएका थिए। त्यस्तै, थप कोरोना खोप खरिदका लागि सरकारले तयारी अगाडि बढाएको पनि जानकारी दिएका छन्।

खोप हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले राष्ट्रपति सी चिनफिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धता’को कार्यान्वयन भएको बताएकी थिइन्। उनले नेपाल र चीनबीच जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतिकसमेत खोप हस्तान्तरण कार्यक्रम रहेको धारणा राखेकी थिइन्।

Leave a Reply