भिडभाड हुने कार्य नगर्न भक्तपुर प्रशासनको आग्रह

न्युज

भक्तपुर

कोरोना भाइरस (कोभिड–१९) संक्रमण दरमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले मेला, महोत्सव र भीडभाड नगर्न आग्रह गरेको छ । कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने,‘युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक देखिन्छ ।’

गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पत्र अनुसार जिल्लामा भिडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको कार्यालयको भनाइ छ । ‘कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,सांस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने तथा सो का लागी आवश्यक समन्वय जिल्ला स्वास्थ्य कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराई जानकारी दिए ।

कोभिड–१९ को जोखिमबाट बच्न नेपाल सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षा लगायतको मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्ने तथा मापदण्ड उल्लघंन गर्नेहरुलाई संक्रामक रोग, २०२० बमोजिम कारबाही गर्ने कार्यालयको भनाई छ । फागु पूर्णिमा (होली) को अवसरमा भिडभाड हुन नदिन स्वास्थ्य तथा सुरक्षा सम्बन्धि मापदण्डको पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउन आग्रह गरेको छ ।

त्यसैगरी, नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का: जात्रालाई गतवर्ष जस्तै पुजाआजामा सिमित गर्ने विषयमा छलफल भईरहेको समेत उनले बताए ।

Leave a Reply