बीपी राजमार्गमा सवारीको लर्को

न्युज

वाग्मती

जारी निषेधाज्ञालाइ अवज्ञा गर्दै बीपी राजमार्गमा सवारी चाप ह्वात्तै बढेको छ । संघीय राजधानीसँग जोड्ने छोटो दुरीको यो वैकल्पिक राजमार्गमा यात्रुवाहक सवारी निषेधाज्ञाको अवज्ञा गर्दै चल्न थालेपछि चाप बढेको हो ।

चेकिङमा रहेका प्रहरीकै मिलेमतोमा सयौं यात्रुबाहक सवारी साधनहरु आउने जाने गरेको व्यवासायीहरुले बताएका छन्। बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमा मात्रै प्रहरीको ६ स्थानमा चेक प्वाइन्ट छ तर पास भएको यात्रुवाहक सवारी भन्दै रकम असुलेर छाड्ने गरिएको ती व्यवसायीहरुको आरोप छ।

एक यातायात व्यवसायीले भने, ‘केहीलाइ कमाउको धन्दा भएको छ। कोरोना महामारी नै नभएको अवस्थामा जसरी सवारी साधन चलेका छन्।’ निषेधाज्ञाको पालना गरेर यातायात व्यवसायीहरुले सवारी साधन थन्क्याएको अवस्थामा केहीले भने प्रहरीको मिलिभगतमा कमाउने अवसर बनाएको उनले बताए।

प्रदेश नम्बर १ र २ का जिल्लाहरुबाट सवारी पास बनाएर यात्रुसहित राजधानीतर्फ जाने सवारीको चाप बढेको ट्राफिक प्रहरीको भनाइ छ। बिरामी, अत्यावश्यक काम देखाएर सवारी धनीले पास लिइ यात्रु बोकेर ओहोर दोहोर गरिरहेका छन्। तराईका जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, सप्तरी, मोरङ, सुनसरी, झापा जिल्लाबाट सवारी पास लिइ यात्रुवाहक हायस, बोलेरो, सुमो लगाएतका सवारी साधनहरु काठमाडौं जाने गरेका छन्।

जिल्ला प्रशासन कार्यालयको सवारी अनुमति लिएर यात्रुहरु ओसारेकाले बढी भाडा असुल्ने गरिएको छ। सवारी पासमा समेत चलखेल भएको कमलामाइ नगरपालिका ६ का उत्पल खड्काले बताएका छन्। भन्छन्, ‘एकादुइ पो अत्यावश्यक हुन्छ, सयौं सवारी साधनलाइ पास दिइ पठाइएकाले चलखेल भएको प्रष्टै हुन्छ।’ खुला हुँदाको जस्तै सवारी ओहोर–दोहोर गर्दा संक्रमण बढ्ने खतरा रहेको छ। अनुमति नहुने सवारी साधनलाइ भने कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कुशहरी भण्डारी पास भएका यात्रुवाहक सवारीलाई नरोक्दा राजमार्गमा लर्को देखिएको बताउँछन्। राति चल्न रोक लगाएकाले बिहान छोड्दा एकैपटक यात्रुवाहक सवारीको ताँती देखिएको उनको भनाइ छ।

Leave a Reply