जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन

न्युज

सुदूरपश्चिम

जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान गरी परीक्षण उत्पादन सुरु भएको छ । केही दिनभित्रै नियमित उत्पादन सुरु हुने अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो । ‘शुक्रबार परीक्षण उत्पादन सफल भएको छ । आइतबारबाट नियमित उत्पादन हुनेछ,’ जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले भने, ‘बझाङ अस्पतालमा अब अक्सिजनको समस्या टरेको छ ।’

अहिले अक्सिजन सोझै बिरामी राख्ने बेडसम्म पाइपमार्फत जडान गर्ने प्रणाली स्थापना गर्ने काम भइरहेको छ । केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पुर्‍याउने प्रविधि पनि सञ्चालनमा आउने उनले बताए । नियमित उत्पादन सुरु भएपछि अक्सिजन प्लान्टबाट दैनिक चार सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ । ‘बिरामीको जोखिम मात्रै घटेको छैन । अब अक्सिजन भर्नका लागि जिल्ला बाहिर पठाउनुपर्ने र अक्सिजन कहिले आउला भनेर कुर्नुपर्ने अवस्था पनि अन्त्य भएको छ,’ डा. ओखेडाले भने, ‘आवश्यक पर्दा जिल्लाभित्रका अरू स्वास्थ्य संस्थालाई पनि अक्सिजन आपूर्ति गर्न सक्ने अवस्थामा हामी पुगेका छौं ।’

Leave a Reply